-बसन्त अधिकारी

नागरिकहरुको व्यक्तिगत स्वतन्त्रतालाइ कुण्ठित गर्ने बन्द, हड्ताल र तोडफोड जस्ता बिषयहरुको म समर्थन गर्दिन, चाहे त्यो जुनसुकै व्यक्ति वा संगठनले जे सुकै नारा दिएर गरेको किन नहोस् l म हिजोको दिनमा पनि यसको बिरोध गर्थे, आजपनि गर्छु र सधै गरिरहनेछु l मेरो बिरोधको सिधा र स्पस्ट केहि कारणहरु छन्, जसलाई तल सविस्तार बर्णन गर्नेछु l

मलाइ लाग्छ, जबसम्म व्यक्तिले अरुको अधिकारमाथि आक्रमण गर्दैन र कानुनको दायरामा रही आफ्नो अधिकारको प्रयोग गर्दछ तबसम्म व्यक्तिको  जिबन्,  स्वतन्त्रता र सम्पति खोस्ने अधिकार कसैसंग पनि हुदैन, किनकि जिबन व्यक्तिले प्रकृतिमार्फत प्राप्त गर्ने कूरा हो l स्वतन्त्रता व्यक्तिको जिबन संगै जोडिएर आउने कुरा हो l बोल्न सक्ने, हिड्न सक्ने, सुन्न सक्ने, हेर्न सक्ने, लेख्न सक्ने आदि क्षमता मानिसको जिबन संगै लिएर आएको हुन्छ l त्यसैले लोकतन्त्रमा विश्वास गर्ने कुनैपनि मुलुकमा मानिसहरुको बोल्न पाउने, हिड्डुल गर्न पाउने, लेख्न पाउने आदि जस्ता आधारभूत अधिकारहरुको सुनिस्चित गरेको पाइन्छ l र अन्तमा, सम्पति मानिसले आफ्नै सारीरिक क्षमता जस्तै: हात खुट्टा र दिमागको प्रयोग गरि आर्जन गर्ने कुरा हो, जसमा उसको ब्यतिगत परिश्रम परेको हुन्छ l त्यसैले यी तिनकुराहरु खोस्ने अधिकार कसैसंग पनि हुदैन l यदि कसैले व्यक्तिको यस अधिकारहरुलाई खोस्ने दुस्प्रयास गर्दछ भने त्यो अबैधानिक र अनैतिक ठहर्छ l यि तीन कुरालाई व्यक्तिले अरुको अधिकारको  अतिक्रमण नगरेको अवस्था सम्म निर्बाध रुपले उपायोग गर्न पाउनु पर्दछ l कुनै पनि ब्यक्तीको सहमति र स्वईच्छा बगैर उसको अधिकारमाथि जबर्जस्ती गर्ने अधिकार कसैलाई पनि निहित हुदैन । तर बन्द हड्ताल र तोडफोड जस्ता क्रियाकलापले व्यक्तिको यिनै अधिकारमाथि अत्तिक्रमण गर्ने भएकोले यस किसिमका क्रियाकलापहरु बैधानिक र नैतिक देखिदैन l

कसैले आयोजना गरेको बन्द र बिरोधका कार्यक्रमलाइ समर्थन गर्ने वा नगर्ने भन्ने कुरा व्यक्तिको स्वेच्छाको बिसय हो l जसलाई मन लाग्छ उसले समर्थन गर्छ, जसलाई मन लाग्दैन उसले गर्दैन l जसले बन्दको समर्थन गर्छ, उसले आफ्नो साधन चलाउदिन, पसल खोल्दिन, काममा जान्न, रयालीमा वा मसाल जुलुसमा जान्छु भनेर रोज्न पाउनु उसको व्यक्तिगत अधिकारको बिषय हो l तर जसलाई समर्थन गर्न मन लाग्दैन उसले बाटोमा आफ्नो साधन संचालन गर्न पाउनु पर्छ, पसल खोल्न पाउनु पर्छ, रोजीरोटी कमाउन वा गरि खान पाउनु पर्छ, स्कुल कलेज पढ्न जान पाउनु पर्छ l कसैलाई पनि उसको अधिकारको प्रयोग गर्नबाट बन्चित र जबर्जस्ती गर्न पाइदैन l यदि कसैले यसो गर्नलाइ रोक्दछ भने त्यो बलजफ्ती हो, जुन तानासाही सासन व्यवस्थामा मात्र पाच्य हुन्छ, प्रजातान्त्रिक मुलुकमा होइन l हामीले बुझ्न जरुरि छ, सबैको अधिकारको सिमा हुन्छ जसलाई नाघ्न मिल्दैन l भनाइ छ, मेरो हात हल्लाउने अधिकार त्यहाँ गएर समाप्त हुन्छ जहाँदेखि तपाइको नाक सुरु हुन्छ l मेरो स्वेच्छा बिना कसैले   पनि म माथि कुनै कुरालाई लिएर जबर्जस्ती गर्ने अधिकार राख्दैन l आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकार खोसिनु हुदैन भन्ने कुराको हेक्का राख्न सबैले जरुरि छ l लोकतन्त्रमा बिरोध गर्ने अधिकार सबैलाइ हुन्छ, तर अरुको अधिकारमाथि अतिक्रमण गर्ने अधिकार भने हुदैन l

कानुनि सासन व्यवस्थामा सबै नागरिकहरुको अधिकार बराबर रुपमा सुनिस्चित गरिएको हुन्छ, किनकि सबैले राज्यलाई कर बुझाएका हुन्छन् l कानुनि सासन व्यवस्थामा जसलाई जे गर्न मन लाग्यो त्यहि गर्न पाउने छुट हुदैन, र कसैलाई धेरै अधिकार र कसैलाई थोरै अधिकार भनेर तोकिएको पनि हुदैन, यदि यस्तो हुन्छ भने त्यो कानुनि सासनको उपहास हो, जहाँ पहुच र बल हुनेले जे गर्दा पनि हुन्छ l

बाटोमा स्वतन्त्र रुपले हिड्डुल गर्न र साधन कुदाउन पाउने मेरो अधिकार हो, आफुलाई चित्त नबुझेको कुरा ब्यक्त गर्न र लेख्न पाउने मेरो अधिकार हो, स्कुल कलेज र कार्यालय जान पाउने मेरो अधिकार हो, आफ्नो पेसा व्यवसाय र रोजगारी कमाउन पाउने मेरो अधिकार हो l मेरो यो अधिकार मैले निर्बाध रुपमा उपयोग गर्न पाउनु पर्छ जबसम्म म अरुको अधिकार माथि दखल पुर्याउदिन l र यदि कसैबाट मेरो यो अधिकार कुण्ठित हुन्छ भने त्यसको बिरोध गर्न पाउने अधिकार म संग निहित हुन्छ l यदि बाहिर कसैबाट मेरो अधिकारमाथि आक्रमण हुन्छ भने त्यस अवस्थामा मेरो अधिकारको रक्षा गर्ने दायित्व राज्यको हुन आउछ, किनकि मेरो स्वतन्त्रता, अधिकार र जीउधनको सुरक्षाको प्रत्याभूतिको निम्ति नै मैले राज्यलाई कर तिरेको हु l यदि मेरो अधिकार कुण्ठित भएको अवस्थामा राज्य हेरेर बस्दछ वा हेरेर बस्न लाचार छ भने त्यो राज्यमा कानुनद्वारा सासन नभई अराजकताले प्रधानता पाएको भन्ने बुझिन्छ l

दण्डहीनता आज यो देशको प्रमुख समस्याको रुपमा उजागर भएको छ l बिरोधकर्ताहरुले शान्तिपूर्ण बिरोध भनेपनि असंख्य त्यस्ता हिंसात्मक घटनाका उदाहरणहरु सजिलैसंग देख्न पाइन्छ l नागरिकहरुले आफ्नो हिड्न र बोल्न पाउने जस्ता अधिकारको प्रयोग गर्दा बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भनि उनीहरुलाई गालि गलौज गर्ने, अपमानित गर्ने, कुटपिट गर्ने, उनीहरुका साधन तोडफोड गर्ने, आगजनी गर्ने आदि जस्ता कुराहरु सामान्य भईसकेको छ l केहि केहि अवस्थामा त बन्दकर्ताहरुले प्रहार गरेको लाठि ढुंगा लागेर मानिसहरु मर्ने जस्ता घटनाहरु नौलो होइनन l आज गलत कुरा र बेथितिले समाजमा जरा गाडीसकेको अवस्था छ l बिरोध गर्ने  र बन्दकर्ताहरुले जे र जस्तो सुकै स्वछन्द व्यवहार पनि गर्न पाइन्छ भने बुझेका छन् l उनीहरुमा स्वतन्त्रता र स्वछन्दतामा फरक छ भन्ने कुराको ज्ञान समेत राखेको देखिदैन l बिरोध गर्ने नाममा जुनसुकै हद र सिमा पार गर्न मिल्दछ भन्ने उनीहरुको बुझाइ छ l आज लाठि, भाला, जुलुस र हतियार लिएर बिरोधमा उत्रिएर सामान्य नागरिकहरुलाइ त्रसित तुल्याउने काम सामान्य भएको छ l तर एउटा सामान्य नागरिकले आफ्नो अधिकार र गलत कुराको बिरुद्ध आवाज उठाउन कठिन भएको छ l समाजमा गलत कुराले यसरि प्रसय पाएको छ कि सहि कुरा गर्न र बोल्न ठुलो साहस चाहिन्छ तर जसले पनि संगठित भएर जस्त्तो सुकै ठुलो अपराध गर्दापनि कुनै कानुन लाग्दैन l जसको उदाहरणहरु प्रतक्ष हाम्रो आखा अगाडी छन् l

बन्दले कसैको भलो गर्दैन l हो अवस्य पनि केहि सिमित नेता र तिनीहरुका पिच्छलग्गुहरुको खाइ पाई स्थापित गर्नमा यसले सहयोग पुर्याउदछ तर अधिकांस जनताको जिबनस्तरमा भने कुनै पनि परिवर्तन ल्याउदैन, जुनकुरा बिगतको लामो बन्दको इतिहासले हामीलाई देखाइसकेको छ l हामिले गलत साधनको उपयोग गरेर सहि परिवर्तनको आशा गर्नु ब्यर्थ नै हुन्छ l साध्य प्राप्त गर्न जस्तो किसिमको साधनको उपयोग गरिन्छ, त्यस्तै कुराले भोलिका दिनमा निरन्तरता पाउदछ जसले समाजलाई अझै उधोगति तर्फ धकेल्दछ l

हामि एक त संसारकै सबै भन्दा गरिब मुलुकका मानिस, त्यसमा पनि रातो दिनको बन्दले हामीलाई कति पछाडी धकेल्न सक्छ भन्ने कुरालाइ बन्दकर्ताहरुले अलिकति सोचेका छन् जस्तो मलाइ लाग्दैन l बन्दको मारले कसैलाई पनि अछुतो राख्दैन, बिशेसगरि यसले ति दैनिक रुपमा रोजी रोटि कमाएर खाने ठुलो मानिसहरुको समूहलाइ अझ धेरै गरिबीमा बस्न बाध्य बनाउदछ l यसले देशको आर्थिक अवस्थालाइ झन् जर्जर बनाउनुको साथै अन्तरास्ट्रिय स्तरमा पनि हाम्रो छविलाई राम्रो बनाउदैन जसको अर्थतन्त्र केहि हदसम्म भएपनि पर्यटनमा टिकेको छ l

हामीले चाडो भन्दा चाडो बन्द र हड्तालको समस्याबाट पार पाउन जरुरि छ, अन्यथा यसले हामीलाई अझ ठुलो आर्थिक, सामाजिक र राजीतिक दुर्घटना निम्त्याउन सक्छ l बन्दकर्ताहरु स्वयं आफै पनि आफ्नो कार्यक्रम संचालन गर्दा संयमित र मर्यादित हुन जरुरि छ, साथै आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकार छ भन्ने कुरालाई पनि बिर्सिदिनु भएन l आफ्नो माग जो संग छ त्यसैलाइ मात्र लक्षित गरि आफ्नो बिरोधको कार्यक्रम संचालन गरिदिदा  सर्वसाधारणहरुले अनायासमा दुक्ख पाउनु पर्ने थिएन l राज्यले पनि बन्दकर्ताहरुको मागलाई सडकमा आउन नदिन कुनै बिशेस स्थान तोकिनु पर्छ जहाँ भित्र रहेर मात्र बिरोध गर्नेहरुले आफ्नो प्रदर्शन गर्न सकुन l साथै राज्यले समयमा नै बिरोध जनाउनेहरुको मागलाइ सम्बोधन गर्नको लागि पनि पहल गर्न जरुरि छ l यदि बिरोध गर्ने नाममा कसैले पनि नागरिकहरुको जिउधनमा कुनै पनि किसिमको क्षति पुर्याउदछ भने, उदण्ड मच्चाउने बन्दकर्ता वा तिनीहरुका नेतालाई पक्रिएर त्यसको क्षतिपूर्ति तिराउन आवस्यक छ, ताकी अर्को पटक देखि यसकिसिमको दुर्व्यवहार लाइ भबिस्यमा रोक्न सकियोस् l यसका साथै बन्द र हड्तालको नाममा नागरिकहरुको खोसिने व्यक्तिगत अधिकार प्रति हरेक नागरिक सचेत हुन जरुरि छ l यदि कसैले आफ्नो बाच्न पाउने, गरि खान पाउने, काम गर्न पाउने, पढ्न पाउने, बोल्न र हिडडुल गर्न पाउने जस्ता व्यक्तिगत अधिकारमाथि आक्रमण गर्छन भने त्यसलाई संगठित भइ प्रतिकार गर्न जरुरि छ l किनकि आफ्नो देशमा शान्ति र स्वतन्त्रता पुर्वक बाच्न र गरि खान पाउनु हरेक नागरिकहरुको अधिकार हो l

बसन्त अधिकारी बिकल्पका संस्थापक हुन।