केहि प्रस्नबाट आफ्नो कुरा सुरु गर्न चाहन्छु l  के म तपाइले लगाएको घडी तपाइको हातबाट खोस्न सक्छु ? के तपाइको ज्याकेट खोस्ने अधिकार मलाइ छ ? के तपाइँसंग भएको कुनैपनि सामान तपाइको सहमति बिना म अतिक्रमण गर्न सक्छु ? पक्कै पनि मलाई यसो गर्ने अधिकार न त तपाई नै दिनु हुन्छ न त राज्यले नै दिन्छ l “किन खोस्न मिल्दैन मैले तपाइको सामान”? तपाइको उत्तर हुनेछ, “किनकि यो तपाइको व्यक्तिगत सम्पति हो त्यसैले” l तपाइको एउटा घडी र ज्याकेट खोस्ने अधिकार मलाइ छैन, यदि गर्छु भने म अपराधी करार गरिन्छु, त्यसो भए के राज्यलाई तपाइको निजि सम्पति खोस्ने अधिकार छ त ? कानुनि हिसाबले पक्कै पनि छैन l जब एकजना व्यक्तिले अरुको व्यक्तिगत स्वतन्त्रता र सम्पतिमाथि आक्रमण गर्दा अपराध हुन्छ भने राज्यले गर्दा कसरि त्यो न्यायसंगत हुन सक्छ ? तर हामी एक व्यक्तिद्वारा अरुको जीउधन माथि गरिएको आक्रमणलाइ अपराधको संज्ञा दिन्छौ भने राज्यले गरेको अतिक्रमणलाइ सहजताका साथ् लिन्छौ l किनकि हामी अझैपनि “जीउधन सरकार को” हो भन्ने पुरानो मान्यतामा बाचीरहेका छौ l जुन मान्यता सरासर गलत छ र यस मान्यताबाट बाहिर निस्कन जरुरि छ l 
कसरि जिउ धन सरकार वा राज्यको हुनसक्छ ? व्यक्तिले सरिर प्रकृतिबाट प्राप्त गर्ने कुरा हो, त्यसैले सरिर व्यक्तिको निजि सम्पति हो l कोहि पनि व्यक्तिले आफ्नो सरिरको (दिमाग, हात, खुट्टा आदि) अंगहरुको सहि उपयोग गरि सम्पति आर्जन गर्ने सामर्थ राख्दछ l यदि उसले आफ्नो सारीरिक  क्षमताको उपयोग गरि राज्यको कानून सम्बत सम्पति आर्जन गर्दछ भने त्यो व्यक्तिगत सम्पति माथि पूर्ण उसको आफ्नो अधिकार स्थापित हुन्छ l निजि सम्पति भएको कारण व्यक्तिले आफ्नो सम्पति जसरि पनि उपयोग र खर्च गर्ने अधिकार राख्दछ l   तर  यस सम्पति माथि अरु कसैले पनि दावा वा अतिक्रमण गर्ने नैतिक अधिकार राख्दैन, यदि कसैले गर्दछ भने त्यो कानुन बिपरित ठहरिन्छ l व्यक्तिको यहि अधिकार सुनिस्चित गराउनको निम्ति राज्यमा न्याय, प्रसासन तथा कानुनि निकायहरुको स्थापना गरिएको हुन्छ l जसको प्रमुख दायित्व व्यक्ति वा नागरिकहरुको जिउ धनको सुरक्षा गर्नु भनेर निर्धारित गरिएको हुन्छ l
व्यक्तिको अधिकारमाथि  दुइवटा निकायबाट आक्रमण हुन सक्छ, पहिला व्यक्ति र अर्को राज्य l यदि एक व्यक्तिले अर्को व्यक्तिको जिउधन र अधिकार माथि आक्रमण गरेको खण्डमा राज्यले सो व्यक्तिलाई आपराधि करार गरि निर्दोषलाई न्याय र दोषीलाइ कारवाहीको दायरामा ल्याई न्याय प्रधान गर्दछ  l तर यदि राज्यले नै व्यक्तिको जिउधन र अधिकार माथि आक्रमण गर्दछ भने त्यसबेला राज्यबाट व्यक्तिलाई कसले हिफाजत गर्ने ? संबिधान व्यक्तिलाई राज्यको अत्याचारबाट बचाउनको निम्ति तयार गरिएको दस्ताबेज हो जसले व्यक्तिलाई राज्यको अत्याचारबाट जोगाउन पहल गर्दछ l त्यसैले राज्यका कानूनहरु संबिधान सम्बत भइ नागरिकहरुको हक अधिकारको रक्षा गर्ने तर्फ आग्रसर हुनु पर्दछ l यदि राज्यका कानूनहरु संबिधान बिपरित कार्य गरि नागरिकहरुको हक अधिकारमाथि आक्रमण गर्दछ भने त्यो अन्यायको बिसय हुनेछ जसको प्रतिबाद र प्रतिकार गर्ने अधिकार नागरिकहरुमा सुनिस्चित हुन्छ किनकि अन्यायपूर्ण कानुन कुनै कानून नै होइन l
म व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्दछु र ब्यतिगत स्वतन्त्रताको पक्षमा वकालत गर्दछु  l मेरो बिचारमा हेरेक व्यतिको स्वतन्त्रता र अधिकार हुन्छ, उसले आफ्नो स्वतन्त्रता र अधिकार तबसम्म उपभोग गर्न पाउनुपर्छ जब सम्म उसले अरुको अधिकारमाथि आक्रमण वा अत्क्रमण गर्दैन l यदि व्यक्तिले अरुको अधिकारमाथि आक्रमण गर्दछ भने राज्यले त्यसबेला मात्र आफ्नो अधिकारको प्रयोग गर्नु पर्दछ अन्यथा होइन l व्यक्ति जसै गरि राज्यको पनि निश्चित अधिकारको सिमा निर्धारण गरिएको हुन्छ जसको दायरा भित्र मात्र रही उसले कार्य गर्नु पर्दछ l
म यो प्रसङ्ग हाल बिराटनगरमा भै रहेको बाटो विस्तारको सन्दर्भमा लेखिरहेको छु l स्वभावले नै मानिस विकास र परिवर्तन चाहन्छ l हामी सबैलाइ आफ्नो ठाउँको विकास भएको हेर्ने र राम्रो ठाउमा बस्ने रहर हुन्छ, म पनि त्यहि चाहन्छु l तर मेरो विचारमा विकासको पनि प्रक्रिया हुन्छ l बिकास गर्ने नाममा कुनै पनि व्यक्ति अन्यायमा पारिनु हुदैन l हामी मद्धे धेरैलाइ लाग्छ धेरै जनाको हितको लागि एकजना व्यक्ति अन्यायमा परेपनि केहि फरक पर्दैन l समाजको हितको लागि केहि व्यक्तिलाई तिलान्जली दिन सकिन्छ l तर हामीले बुज्नु पर्ने कुरा यो हो कि हामीले समाज खोज्न गयौ भने कहिँ भेटिदैन, मात्र व्यक्ति भेटिन्छ l हरेक व्यक्तिहरुको कारण नै समाज निर्माण भएको हुन्छ l मानब समाजलाइ आजको यो अवस्थामा समाजले ल्याएको होइन, व्यतिको योगदान गर्दा हो l  आज सम्म जति पनि नया कुराहरुको आविस्कार भएका छन त्यो समाज र सरकारले होइन, व्यक्तिले सिर्जना गरेका हुन l व्यक्तिसंग सोच्न सक्ने र आविस्कार गर्न सक्ने क्षमता हुन्छ, समाज संग होइन l यदि व्यक्तिले नसोचीदिने हो भने कुनै पनि  समाज र राष्ट्र आगाडी बढ्न सक्दैन l आज हामी जति पनि चोकमा ठडिएका मुर्तिहरु हेर्छौ ति सबै व्यक्तिहरुका हुन्छन नकी झुण्ड वा समाजको l  त्यसैले व्यक्तिलाई तिलान्जली दिएर समाजलाई बचाउने प्रयास भन्दा पनि हरेक व्यक्तिको व्यक्तिगत अधिकार सुनिस्चित गरि समाजलाई आगाडी बढाउने प्रयासको म सम्मान गर्दछु l